वर्षभरिको सिकाई ‘फूड फेस्टिबल’ मार्फत प्रस्तुत

केन्द्रभाग मिडिया

पोखरा ।
वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई बाहिर ल्याउने गरि गैहपाटनस्थित पश्चिमाञ्चल माविले शनिबार एकदिने फूड फेस्टिबल आयोजना गरेको छ । कक्षा ११ र १२ मा अध्यापन हुने होटल व्यवस्थापन विषयका विद्यार्थीको संयोजनमा विद्यालयले फूड फेस्टिबल आयोजना गरेको हो ।

फूड फेस्टिबलको शनिबार पोखरा पर्यटन परिषद् (पिसिटी)का अध्यक्ष पोमनारायण श्रेष्ठले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य सरोज कोइरालाले एकवर्षसम्मको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई एकैठाउँ प्रस्तुत गर्नेगरि फूड फेस्टिबल आयोजना गरेको बताए ।

‘विद्याथीले कक्षा कोठामा सैद्धान्तिक ज्ञान लिएका थिए । बेलाबेला होटल घुमघाम र स्कुलको प्रयोगशालामा प्रयोगात्मक अभ्यास पनि गरेका थिए,’ उनले भने, ‘तर, वर्षभरिको अनुभवलाई बास्तविक रुपमा देखाउने गरि पहिलो पटक यो कार्यक्रम आयोजना गरेका हौ । हामीले किताबी ज्ञान मात्र दिन्नौ, वास्तविक अभ्यास पनि गराउँछौं ।’ आगामि दिनमा पनि विद्यालयले यस्तै कार्यक्रम गर्ने उनले बताए । होटल व्यवस्थापनकै विद्यार्थीले उक्त अवसरमा विभिन्न प्रकारका परिकार बनाएका थिए ।

प्रमुख अतिथि परिषद् अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा खानाको पनि महत्व रहेको बताए । उनले स्वादिलो खाना पस्किन नसके पर्यटनको महत्व हराउने बताए । ‘सबै पाहुनाले खानाको मिठो स्वाद खोजिरहेका हुन्छन । स्वस्थ र स्वादिलो खाना बिना पर्यटन सम्भव हुँदैन,’ उनले भने, ‘पाहुनाको सत्कारमा खानाको महत्व छ ।’ पोखरा पर्यटकीय राजधानी भएकोले पनि होटल व्यवस्थापन शिक्षाको अझै बढी महत्व रहेको उनले बताए ।

पोखरामा होटल व्यवस्थापन अध्यापन हुने धेरै शैक्षिक संस्था भएपनि त्यहाँ उत्पादित शैक्षिक जनशक्ति अहिलेसम्म बिदेश पलायन हुने गरेकोले उनीहरुलाई रोक्न जरुरी रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘होटल व्यवस्थाप अध्यापन गराउने शिक्षण संस्थासँग सहकार्य गरेर हामीले यहाँको जनशक्तिलाई स्वदेशमै रोक्ने पहल गर्नेछौं,’ उनले भने, ‘स्वदेशमै काम र दाम पाइने अवसर रहेकोले वेवास्ता गर्नु हुँदैन ।’ होटल व्यवस्थापनसँग रोजगारी र आम्दानीको पनि महत्व रहेको उनले बताए । ‘एकैजना सेफले पोखरामा लाखौं रुपैयाँ तलब पाउँछन । त्यसैले अब विदेश होइन, स्वदेशमै केही गर्नुपर्छ,’ उनले भने, ‘पढ्ने बित्तिकै लेकसाइडमै रोजगार पाइन्छ भन्ने सन्देश दिलाउन जरुरी छ ।’

विद्यालयकी सह प्राचार्य प्राचार्य मिनु श्रेष्ठ कुवरले फूड फेस्टिबलको सुरुवात भएको र आगामि वर्ष पनि यस्तै गतिविधि गर्ने बताईन । ‘वर्षभरी सिकेको सिकाईलाई वास्तविक रुपमा पस्कन सक्ने सक्षम विद्यार्थी तयार भएको यो कार्यक्रमले पुष्टि गरेको छ,’ उनले भनिन । विद्यालयका दश जोड दुइका संयोजक देव क्षेत्रीले प्लस टु मा सक्रिय विद्यार्थीको पहलमा यो कार्यक्रम भएको बताए । एक वर्षमा विद्यार्थीले केके सिके भन्ने देखाउने ठाँउ महोत्सव बनेको उनले बताए ।

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यार्थीको वास्तविक ज्ञानको पुष्टि गर्नका लागि यस्तै थलो आवश्यक परेको बताए । ‘किताबी ज्ञानले मात्र पुग्दैन । अब त हामीले अतिरिक्त कोर्ष अध्यापन गराएर भएपनि विद्यार्थीलाई अब्बल बनाउने तयारी गरिरहेका छौ,’ उनले भने ।

विद्यालयका अतिरिक्त गतिविधिका संयोजक आत्मराम अधिकारीका अनुसार कार्यक्रममा खानासँगै विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधि गरिएको बताए । विद्यालयमा ११ र १२ कक्षामा मानविकी, कानुन, व्यवस्थापन, होटल व्यवस्थापन विज्ञान विषयमा अध्यापन हुँदै आएकोमा आगामि शैक्षिक सत्रदेखि व्यवस्थापन अन्तरगत रहेर सौन्दर्य कलाको पनि अध्यापन हुँदैछ ।

 

  • १ असार २०८१, शनिबार २०:५१ प्रकाशित