नेकपा एसको महाधिवेशन : देशभरिबाट एक हजार ८ सय ७८ प्रतिनिधिले भाग लिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले दशौं महाधिवशेनमा एक हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने भएका छन् ।

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले असार १६ देखि २० मा हुने महाधविशेनका लागि जिल्ला, प्रदेश, प्रवास, जनसंगठनबाट प्रतिनिधिको संख्या र निर्देशिका पारित गरी संख्या विधि तय गरेको हो ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा ४२५ महिला, १५० दलित र खुला १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधि रहने उल्लेख छ ।

जसअनुसार भूगोलका संघीय निर्वाचन क्षेत्र १ हजार १ सय ५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्र २३, प्रदेश सम्पर्क कमिटी क्षेत्र २२, भारतप्रबास क्षेत्र ८, अन्य प्रवास क्षेत्र १५, केन्द्रीय सल्लाहाकार परिषद् ५, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च ५, विभिन्न महासङ्घहरू ८५, जनसङ्गठनहरू ५६, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र १३ मजदुर विशेष र आरक्षण २० प्रतिनिधिले महाधिवेशनमा सहभागी हुनेछन् ।

सचिवालयले पारित गरेको प्रतिनिधि आचारसंहितामा समूह बनाएर उम्मेदवार बन्न नपाइने नपाइने प्रावधान राखिएको छ । प्रतिनिधि चयन निर्वाचनमा नेताहरुको नाम उल्लेख गरी प्रचारप्रसार गर्न नपाइने भएको छ ।

नेकपा एसले महाधिवेशन प्रतिनिधि चयनका लागि गुटगत भेलारबैठक आयोजना गर्न, समुहमा म्यासेज पठाउन,पर्चा पम्पलेट उत्पादन तथा वितरण गर्न, सामाजिक सञ्जाल, टेलिभिजन, रेडियो वा एफएम रेडियो लगायत अन्य डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्न वा गराउन नपाइने संहितामा उल्लेख छ ।

जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र आदिको आधारमा मतदातालाई प्रभावित गर्न नपाइने, महाधिवेशन प्रतिनिधि चयनका लागि पार्टी सदस्यहरूलाई प्रभावमा पार्न नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराए कार्वाही हुने भन्दै निर्देशन गरेको छ । ‘आचारसंहिता उल्लङ्घन गरेको प्रमाणित भएमा निर्वाचित प्रतिनिधि खारेज हुनेछ’ अध्यक्ष नेपालले जारी गरेको निर्देशनमा उल्लेख छ ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १६:४६ प्रकाशित