पोखरा ।
गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ ।
माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको हो ।नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले उनीमाथि कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि सभामुख कृष्ण धितालले त्यसको जानकारी शुक्रबारको प्रदेशसभा बैठकमा दिएका हुन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् ।उनले जेठ २८ मा माओवादीको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
माओवादीले कारबाही गरेको पत्र दिएसँगै सांसदनै नहुने स्थितिमा अब उनको मन्त्री पद के हुने भन्ने स्पष्ट भैसकेको छैन ।संविधान अनुसार सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ । तर देवकोटा निलम्बन हुने गरी भएको कारबाहीको सूचना विरुद्ध सर्वोच्च जाने तयारीमा छन् ।