दुर्घटना अपडेट : कार चालक पोखरा –५ का समीर ओझाको ज्यान गयो

केन्द्रभाग मिडिया

Photo : RSS

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको ज्यान गएको छ ।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।

घाइते तीन जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये काठमाडौँको टोखा नगरपालिका–६ का २२ वर्षीय शेखर मिश्र र ललितपुर महानगरपालिका-२४ बस्ने २१ वर्षीय सिर्जन ओझाको अवस्था चिन्ताजनक छ।

चार जना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १६:२६ प्रकाशित