कावासोती नगरपालिकामा स्थानीयले गरे तोडफोड

केन्द्रभाग मिडिया

चितवन ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड भएको छ ।

नाला पुरिएर ३ जना कामदार महिलाको ज्यान गएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले तोडफोड गरेका हुन्।बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको ज्यान गएको थियो ।

झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गरेका थिए । स्थानीयको आक्रमणका कारण नगरपालिका भवनको पूर्वतर्फको झ्यालढोका फुटेका छन् ।

बिहीबार नाला पुरिएर भएको दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको ज्यान गएको हो । मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।

वर्षा लागेपछि काम सुरु गरेको, नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको भन्दै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णुप्रसाद भुषालको घर घेराउ गरेर नाराबाजी गरेका थिए ।

कावासोती नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता पनि नगरपालिकाले गरेको छ ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १४:४० प्रकाशित