कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खनन बन्द हुने

केन्द्रभाग मिडिया

पोखरा ।

ढुङ्गा, गिटि, बालुवा तथा नदी तथा खानीजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक बुधबार सम्पन्न भएको छ।

बैठकले कास्कीमा तीन महिना नदीजन्य र खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानीजन्य पदार्थको संचालन मापदण्ड २०७७ ले ब्यबस्था गरे अनुसार सो निर्णय गरिएको हो ।

सो सञ्चालन मापदण्ड अनुसार असार ,साउन र भदौ महिनामा नदि तथा खानी जन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था अनुसार उक्त निर्णय गरीएको अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए ।

पौडेलले विकास निर्माणका काममा बाधा नपुग्ने गरि विद्यमान कानुन र मापदण्डको पालना गर्नुको विकल्प नरहेको भन्दै कडाइका साथ निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानीय तहहरूलाइ आग्रह गरे ।

दर्ता नगरी अवैधरूपले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरूका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता उद्योगलाई समेत तत्काल बन्द गर्न पौडेलले आग्रह गरे ।

उनले सबै पालिकाहरू मार्फत उद्योगहरूले जेठ मसान्तभित्र स्रोत खुलाएर स्टक प्रमाणीकरण गरेका सामाग्री यो अवधिमा बिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने बताए ।

नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै प्रकारको प्रभाब र दबाबमा नपर्न आग्रह गर्दै अवैध उत्खनन कार्य भएको पाइएमा तत्काल जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेलले कास्कीबासी जनताहरूलाइ आग्रह समेत गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य , जिल्ला समन्वय समिति कास्कीका उप–प्रमुख सरिता माल,माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीन बहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देविजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह–संयोजक भरतमणी पाण्डे ,कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले आफ्नो धारणा व्यक्त गरेका थिए ।

ससस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा , क्रसर व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष लिलाधर बराल ,कास्कीस्थित पालिकाका प्रमुख कार्यकारी अधिकृतहरू , अनुगमन समितिका सदस्यहरू सहित विभिन्न सरोकारवाला व्यक्तिहरूले ढुङ्गा ,गिटि ,बालुवा ,नदि तथा खानीजन्य पदार्थको उत्खनन ,ओसार पोसार, बिक्रीवितरण र उपभोगमा देखिएका समस्या ,चुनौती र निराकरणका सम्बन्धमा आ – आफ्नो धारणा व्यक्त गरेका थिए ।

अनुगमन समितिका संयोजक एवम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

  • ३० जेष्ठ २०८१, बुधबार १५:२४ प्रकाशित