काठमाडौँ ।
सत्तारुढ प्रमुख घटक नेकपा एमालेले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।
आज प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले दुई मुलुकबिचको थाँती रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेको कुराकानी संसद्लाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गरेका हुन् ।
उनले संसद्को विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैँले अग्रसरता लिनुपर्ने पनि बताए । सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौँमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताए ।
सांसद पन्तले नेपाल र भारतबिचको समस्या अहिले पनि ज्युँका त्युँ रहे पनि प्रधानमन्त्री प्रचण्डले कुनै समस्या नभए जसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाए ।