पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ जेठमा विश्वासको मत लिने भएका छन् । १६ जेठमा मुख्यमन्त्रीमा नियुक्त पाण्डेले नीति तथा कार्यक्रम र बजेट अगावै विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि २८ जेठको ३ बजे प्रदेश सभाको बैठक बस्ने भएको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भइसकेको छ ।
संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने ३० दिन अर्थात १३ असारसम्मको समय पाएका उनले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याए पछि विश्वासको मत लिने सुविधा थियो । तर मुख्यमन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगाडि नै विश्वासको मत लिने निर्णय लिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकारको पक्षमा बहुमतका लागि ३१ मत चाहिन्छ । कांग्रेसको २७ सिट छ । पछिल्लो समय सरकार गठनमा तटस्थ रहेको राप्रपाले पाण्डेलाई विश्वासको मत दिने र नदिनेबारे अझैसम्म औपचारिक रूपमा मुख खालेको छैन ।
गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् । राप्रपाले समर्थन गर्दा २९ पुग्छ । राजिव गुरुङ आउँदा पनि जम्मा ३० सिट पुग्छ । यस हिसावले मुख्यमन्त्रीले सहजरुपमा विश्वासको मत लिनसक्ने अवस्था छैन ।
नेपाली कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले आवस्यक थप एक मतका लागि माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटाको आशा गरेका छन् ।