काठमाडौँ ।
सरकारले सत्ता समीकरण फेरिएपछि राजदूतहरू फिर्ता बोलाउने विगतको परम्पराकै निरन्तरता भएको बताएको छ । सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समीकरण फेरिदा राजदूतहरू फिर्ता गर्ने सरकारले यो पहिलो पटक नगरेको बताइन् ।
शुक्रबार बिहीबारका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री शर्माले भनिन्, ‘११ देशका राजदूत फिर्ता बोलाउने निर्णय र प्रधानमन्त्री भारत जाने विषय जोडिएको छैन ।’
मन्त्री शर्माले विगतमा पनि सत्ता समीकरण फेरबदल हुँदा राजदूतहरू फिर्ता बोलाउने गरिएको बताइन् ।‘विगतमा पनि कतिपय समीकरण फेरिदा प्रचलनकै रूपमा राजदूतहरू फिर्ता बोलाउने कुरा स्थापित भयो’, उनले भनिन्, ‘यो ठिकबेठिक के हो भनेर समीक्षाको विषय हुनसक्छ । तर प्रचलनकै रूपमा स्थापित भएको विषय हो यो ।’
उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा राजदूतहरू फिर्ता बोलाएको पनि बताइन् ।