प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल, बालेन गएनन्

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित रहेको हो ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले प्रचण्डले भने, ‘तपाईँहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ । लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ । अब यो काम तीव्रतामा अगाडि बढ्छ ।’

छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह भने अनुपस्थित रहेका थिए । बालेनले पटकपटक सङ्घीय सरकारको आलोचना गर्दै आएका छन् ।

छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको थियो । बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो ।

  • २५ जेष्ठ २०८१, शुक्रबार १५:४३ प्रकाशित