पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट भन्दापनि आफ्नो ध्यान कसरी सरकार टिकाउनेमा केन्द्रित रहेको बताएका छन् । गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिले राखेको आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम र बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संघीय सरकार आफू सुरक्षीत बनेपछि प्रदेश सरकारहरुलाई कसरी भत्काउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको उनले टिप्पणी गरे । ‘माथि आफ्नो सरकार टिकाएपछि अब सात वटै प्रदेश सरकार कसरी भत्कादिने भन्ने छ । आज मधेश सरकार भत्काइएको छ । कोशीमा पनि त्यस्तै छ । अरु प्रदेशमा हेर्यो भनेपनि त्यस्तै छ’ उनले भने ।
https://www.facebook.com/KendraKhabar/videos/980508307078734
मुख्यमन्त्री पाण्डेले ‘यसढंगको राजनीतिक अस्थिरताले कहाँ पुगिने हो ?’ भनेर प्रश्न समेत गरेका छन् । विकासका लागि राजनीतिक स्थिरता मुख्यकूरा भएको उल्लेख गरेका उनले यसबाट माथि नउठ्ने हो भने जनतामा झनै निरासा बढ्ने चिन्ता प्रकट गरे ।
उनले जनताको निराशालाई आशामा परिणत गर्नेगरी बजेट ल्याउने प्रयास सरकारको रहने बताए । तर, जनताको अपेक्षा पुरा गर्ने सामथ्र्य नरहेको समेत उनले स्विकार गरे । अहिले ३० अर्वको हाराहारीमा बजेट ल्याउने प्रक्षेपण रहेको जानकारी दिँदै प्रदेशको गौरवको एउटा आयोजनालाई भएको सबै बजेट हालेपनि सम्पन्न नहुने अवस्थामा रहेको टिप्पणी गरे । ‘सुस्ता देखि कोरलासम्मको सडक हाम्रो गौरवको आयोजना हो । के सबै बजेट यसैमा हाल्यौं भने यो बन्छ त रु बन्दैन । हाम्रो हालत यही हो’ उनले भने ।
मुख्यमन्त्री पाण्डेले विकास गाउँमा गएपनि मानिस गाउँमा टिकाउन नसकिएकोमा चिन्ता प्रकट गरे । बाटो, विजुली, खानेपानी, स्वास्थ्य र शिक्षाको सुविधा गाउँमा पुगेपनि मानिस सहर झर्ने समस्या रहेको उनले सुनाए । २० वर्ष पहिलेको गाउँको जनसंख्या र त्यसलाई चहिने पूर्वाधार र अहिलेको पूर्वाधार र जनसंख्या तुलना गरेर हेर्न उनले आग्रह गरे । तर गाउँमा मानिस थोरै छन् भनेर नहुने भन्दै प्रतिफल नआउने भएपनि काम गर्नुपर्ने बाध्यकारी अवस्था रहेको उनको धारणा थियो ।
गाउँकेन्द्रित आयआर्जजनका कार्यक्रम ल्याएर कसरी गाउँमा मानिस अड्याउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने उनले बताए । तयसका लागि आफूहरुले बजेट मार्फत इमान्दार प्रयास गर्ने उनले प्रतिवद्धता जनाए ।