भारतीय प्रधानमन्त्री मोदीको शपथमा जाने तयारीमा प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् ।

स्रोतको अनुसार मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गरेका छन् तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।

लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद भंग गरेका थिए । अब नयाँ मन्त्रिपरिषद गठनको तयारीमा उनी छन् । बुधबार बसेको गठबन्धनको बैठकले सर्वसम्मतीले मोदीलाई नेता चुन्दै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ । भारतीय मिडियाहरुका अनुसार शपथ ग्रहण समारोह ८ जुनमा हुने सम्भावना छ ।

मोदीले शपथ लिने दिन निश्चित भएलगत्तै प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौंस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको स्रोतले बताएको छ ।

  • २४ जेष्ठ २०८१, बिहीबार १०:४५ प्रकाशित