टी–२० विश्वकप

नेपाल द्वारा नेदरल्यान्ड्ससामु १०७ रनको लक्ष्य प्रस्तुत

केन्द्रभाग मिडिया

 

पोखरा ।
टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो ।

ग्रान्ड प्रिएरी मैदानमा नेपाली समर्थकको भरपुर साथ पाए पनि ब्याटिङमा भने सोचे जस्तो प्रदर्शन हुन सकेन । लगातार विकेट गुमाएको नेपालका लागि रोहित पौडेलले सर्बाधिक ३५ रन जोडे । उनले ३७ बलमा ५ चौका प्रहार गरे ।

नेपाली ब्याटर विरूद्ध नेदरल्यान्ड्सका स्पिनर टिम प्रिङगनल हाबी भए । उनले कप्तान रोहितसहित कुशल भुर्तेल र अनिल साहलाई आफ्नो सिकार बनाएका थिए । उनले चार ओभरमा २० रन खर्चिदा ३ विकेट लिए ।

नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो । ओपनर आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा प्रिङगनलको बलमा ७ रनमा क्याच भए । चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहदा भान वीकको एलबिडब्लूको धरापमा परे।

यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल साह पनि चल्न सकेनन् । उनी आठौं ओभरमा ११ रन जोडेर प्रिङगनलकै बलमा क्याच हुन पुग्दा नेपालले आठौं ओभरमा ४० रन जोड्दा ३ विकेट गुमाएको थियो ।

दशौं ओभरमा नेपालले चौथो विकेट गुमायो । कुशल मल्ललाई ९ रनमा भान मकेरेनले म्याक्स ओुडाउडको हातबाट क्याच गराए । लगत्तैको ओभरमा दीपेन्द्रसिंह ऐरी १ रनमा बास डी लीडको बलमा भान वीकबाट क्याच भए ।

 

  • २२ जेष्ठ २०८१, मंगलवार २३:३० प्रकाशित