पोखरा ।
गैहपाटनस्थित पश्चिमाञ्चल माविले दिलाएको एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम मंगलबार सकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको थियो ।
तालिममा ५० जना विद्यार्थी सहभागि थिए ।विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार सौन्दर्यकलाको क्षेत्रमा पछिल्लो समय भविश्य खोज्ने धेरै युवायुवती छन । उनीहरुलाई सौन्दर्य कलाको क्षेत्रमा आकर्षण बढाउन विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रशिक्षण दिइएको हो । पश्चिमाञ्चल माविले आगामि शैक्षिक सत्रदेखि कक्षा ११ मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्न थालेको पनि उनले बताए ।
‘पछिल्लो समय सौन्दर्य कलाको क्षेत्रमा भविश्य खोज्ने युवायुवती पर्याप्त छन । उनीहरुलाई यो क्षेत्रमा प्रवेशका लागि सहज बनाउन विद्यालयले निशुल्क तालिम दिएको हो,’ प्राचार्य कोइरालाले भने । उनका अनुसार सौन्दर्य कलाले युवायुवतीलाई स्वरोजगार बनाउन पनि सघाएको छ । ‘सौन्दर्य कलाको क्षेत्रमा सबैतिर माग बढेपछि पश्चिमाञ्चल माविले सरकारले तोकेको पाठ्यक्रम अध्यापन गराउनेगरि यो वर्षदेखि आधिकारिक रुपमा अध्यापन पनि गराउन थालेको छ,’ उनले भने ।
समापन अवसरमा सौन्दर्य कला संघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले विद्यार्थीलाई सहजै स्वरोजगार बनाउनका लागि सौन्दर्यकला क्षेत्र महत्वपूर्ण रहेको बताईन । श्रेष्ठले भनिन, ‘केहीवर्ष अघिसम्म सौन्दर्य कलासम्बन्धि पेशालाई समाजले खासै बुझेको थिएन । चाँसो पनि लिएको थिएन । तर, अहिले यो व्यावसायिक बनेको छ,’ श्रेष्ठले भनिन, ‘म पनि निकै नै मेहनत र परिश्रमका साथ यो क्षेत्रमा प्रवेश गरेकी हुँ । अहिले यो क्षेत्र व्यावसायिक बनेको छ ।’
सौन्दर्य कलाको माग अहिले नेपालमा मात्र नभई विदेशमा झनै बढी रहेको उनले बताईन । ‘अहिले तालिमको भरमा धेरै महिला र पुरुषले सौन्दर्य कलालाई व्यावसायिक बनाएका छन । तर, यसलाई शैक्षिक पाठयमक्रममार्फत समेट्दा अझै बढी प्रभावकारी हुनेछ,’ उनले भनिन । अहिले अमेरिका, अस्ट्रेलियामा गएका धेरै महिला ( पढ्न बाहेक)ले सौन्दर्य कलालाई मुख्य सीप बनाएको उनले बताईन ।
पोखराकै आइरिस हेयर एण्ड ब्युटी केयर प्रालि. सँगको सहकार्यमा विद्यालयले तालिम दिएको हो । पश्चिमाञ्चल माविमा सैद्धान्तिक र आइरिस हेयर एण्ड ब्युटी केयरमा प्रयोगात्मक अभ्यास हुनेछ । एकसाता अवधिको यो तालिमले सुरुवाती चरणको सेल्फ मेकअप सम्बन्धि ज्ञान दिलाएको आइरिस हेयर एण्ड ब्युटी केयर प्रालिकी संचालक सोनम गुरुङले बताईन ।
विद्यालयका उच्च मावि संयोजक देव क्षेत्रीले एकसाताको तालिम पर्याप्त नभएपनि यही तालिमले विद्यार्थीलाई स्वरोजगार बन्न प्रेरणा दिने बताए ।विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझाका अनुसार विद्यालयले आगामि शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्न थालेको जानकारी दिए ।
उनले बढी भन्दा बढी प्रयोगात्मक शिक्षा दिएर विद्यार्थीलाई व्यावसायिकतामा धकेल्ने प्रयास गर्ने बताए । ‘अध्यापन सकेको भोलिपल्ट कमाउन सक्ने गरि सक्षम बनाउने प्रयास विद्यालयले गर्नेछ,’ ओझाले भने, ‘बेरोजगार बस्नुपर्ने अवस्था पक्कै आउँदैन । सीप र जाँगर एक कमाउन नसक्ने कोही हुँदैन ।’
विद्यालयकी सह प्राचार्य मिनुु श्रेष्ठ कुँवरले एसइइ पछि अब कता जाने भनेर सोच्ने बेला भएका विद्यार्थीलाई भविश्य हेरेर अघि बढ्न सुझाव दिइन । विस २०४९ मा स्थापना भएको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षासम्मका कक्षाहरू सञ्चालन भइरहेका छन् । हालसम्म कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन हुँदै आइरहेको छ ।