संखुवासभा ।
निमार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्गको ‘ब्रेक थ्रू’ भएको छ । संखुवासभास्थित मकालु गाउँपालिका–५ आम्राङमा आयोजित कार्यक्रममा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सुरूङमार्गको ‘ब्रेक थ्रू’ गरेका हुन् ।
फ्याक्सिन्दा ड्यामसाइडदेखि दिदिङमा निर्माण हुने विद्युत् गृहसम्म पानी पुर्याउन ९.५ मिटर परिधिको ११.७८ किमि सुरुङ मार्ग निर्माण गरिएको हो ।
भारतीय सतलज कम्पनी ९एसजेबिएन० ले निर्माण गरिरहेको अरुण तेस्रोको ७० प्रतिशत काम सकिएको छ । प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ‘ड्यामसाइट’ र ‘पावरहाउस’ को हेलिकप्टरबाट अनुगमनसमेत गरेका थिए ।
कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पीडीए) मा व्यवस्था गरिएको छ ।
आयोजनाबाट व्यावसायिक उत्पादन सुरू भएको एक वर्षभित्र स्थानीयलाई शेयर दिने पीडीएमा उल्लेख छ । पीडीएअनुसार यस परियोजनाबाट एक सय ६० करोड रूपैयाँ स्थानीयलाई शेयर दिइनेछ ।













