पोखरा ।
आफैले पढाउने विद्यार्थी कुट्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ३२ को युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटेको आरोपमा ३२ वर्षीय शिक्षक सुदिप अधिकारी पक्राउ परेका छन् ।
बालकको संवेदनशिल भाग (पछाडी) लठ्ठीले प्रहार गरी घाईते बनाएको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अधिकारीले १३ जेठमा ती बालकलाई कुटेका थिए ।
उनलाई आज सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार कास्की जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा दिन पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ । उक्त कसूरमा १ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको प्रवक्ता शर्माले बताए ।