पोखरा ।
नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको आगामी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सहभागृहमा जारी अधिवेशनमा विहान ७ः१५ बाट मतदान सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
अधिवेशनअन्तर्गत आइतबार भएको मनोनयनमा अध्यक्षका लागि दीपक पौडेल र जीवनप्रसाद आचार्यले उम्मेदवारी दिएका हुन्। आचार्य हालका सचिव हुन् भने पौडेल अघिल्लो पटक पोखरा महानगरपालिका मेयरको टिकट पाएर पनि खोसिएका अग्रज नेता हुन् ।
गण्डकी प्रदेशमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधर बीच प्रतिस्पर्धा हुनेगरेको छ । प्रदेश कमिटी र जिल्ला कमिटीमा जस्तै महानगर कमिटीको नेतृत्वका लागि पनि दुबैपक्ष प्रतिस्पर्धामा उत्रेका हुन् ।
अध्यक्षका उम्मेद्वार मध्ये पौडेल पृथ्वी सुव्वा गुरुङ निकट हुन् । उनको प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुलामा लालबहादुर राना र उपसचिव महिलामा किरण गौतमले उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा मनोनयन दिएका आचार्य खगराज अधिकारी निकट हुन् । उनको प्यालनबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा प्रतिस्पर्धामा छन् । उपसचिव खुलातर्फ बलराम गिरीले पनि उम्मेदवारी दिएका छन् ।
चुनावमा ६८ क्लष्टरमा ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुन् छन् । जसमा कुल २ सय २८ जनाले मनोनयन दिएको निर्वाचन अधिकृत अधिवक्ता मदनप्रसाद तिवारीले बताए । अधिवेशनका लागि करिब ५ सय प्रतिनिधिले भाग लिएका छन् । तीमध्ये आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६ , जनवर्गीय संगठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन् ।
अधिवेशनका लागि कृष्ण थापा नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । जसको सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र बैनहादुर अधिकारी क्षत्री सदस्य छन् । बिहान सुरु मतदान साँझसम्म चल्न सक्ने बताइएको छ ।
मतदानमा सहभागी एक प्रतिनिधिका अनुसार एक जनाले मतदान गर्न ९ देखि १५ मिनेटसम्म लाग्ने गरेको जानकारी दिए । जसका कारण मतदान अबेरसम्म नसकिने उनको भनाई छ ।
इलेक्ट्रिक भोटिङमार्फत मतदान भएकाले रिजल्ट भने मतदान सकिएको केही घण्टामै प्राप्त हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनको शनिबार आयोजित समारोहमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।