पोखरा ।
पेट्रोल र डिजेलको मूल्य घटेको छ । शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टीतेल एक रूपैयाँ घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ४२ पैसा र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५२ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६८ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५३ रूपैयाँ पर्नेछ ।













