पोखरा ।
कास्की जिल्लाको रुपा गाउँपालिकामा हिजो (बिहीबार) हावाहुरीसहित परेको पानीले १४ वटा घरमा र अन्य संरचनामा आंशिक क्षति पुराएको छ ।
हिजो अपरान्ह करिब साढे चार बजेको समयमा आएको हावाहुरीबाट कास्कीको रुपामा १४ वटा घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
हावाहरीले रुपा गाउँपालिका वडा नं. १ च्यार्पे बस्ने नर माया गुरुङको २ तले कच्ची घरको टिनको छानो उडाएको,वडा नम्बर २ छापडाँडा बस्ने सोम बहादुर खड्काको २ तले कच्ची धनसारको छाना उडाएको छ ।
यस्तै सोही वडाका हर्क बहादुर गुरुङ, सोही ठाउँका कसिला गुरुङ,प्रतिक अधिकारी, गंगा गुरुङ, राज कुमार तामाङ, मियागाउ बस्ने अब्बस अलि मिया, अबदुल मिया,रजिना मिया, मैमुन मिया, लैलातान मिया,कृष्ण बहादुर थापा र तसबिरन मियाको घरको छाना उडाएको छ ।
प्रतिक अधिकारीको १ तले पक्की घरको छतमा राखेको पानीको ड्रम र ट्वाईलेटको छतमा राखेको ड्रम, भिरचोक बस्ने जानकी गुरुङको मौरीको घार र ड्रम , चिसापानी स्थित कोट मन्दिरको टिनको छानो र थापा गाउको कुल मन्दिरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ ।
हावाहुरीबाट मानवीय र पशुंपक्षीमा क्षति नभए पनि धन्सारमा राखेको अन्नपातमा भने क्षति पुगेको छ ।












