आजदेखि ‘श्रमाधान रोजगार मेला’ : प्रधानमन्त्रीले उद्घाटन गर्ने

केन्द्रभाग मिडिया

विराटनगर ।

आजदेखि श्रमाधान रोजगार मेला सुरु हुने भएको छ । कोशी प्रदेशको विराटनगर स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज र भोलि हुने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, विराटनगर महानगरपालि प्रमुखलगायतका व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रूपमा रहेका छन् ।

नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको श्रममन्त्री अर्यालले जानकारी दिए ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशको विराटनगरबाट जेठ १७ गते शुभारम्भ भएर बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबिचको साझेदारीलाई प्रवर्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ । रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ ।

श्रम मन्त्रालयका उपसचिव एवं मेलाको कोशी प्रदेश संयोजक सुशील आचार्यले तयारीमा कुनै त्रुटि नहुने गरी काम गरिएको बताए । सरकारले उच्च प्राथमिकताका साथ आयोजना गरेको मेलालाई ‘बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात’का रूपमा लिइएको उनले जानकारी गराए ।

  • १७ जेष्ठ २०८१, बिहीबार १०:२७ प्रकाशित