गुच्चाको गोली लागेपछि गाउँमा बाँदर देखिन छोडे

केन्द्रभाग मिडिया

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पटकाएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन । “रुखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक फडकाउदा लागेको गुच्चाको गोलील एउटा बाँदर घाइते भएको थियो”आविष्कारक गुरुङले भन्नुभयो, “घाइते बाँदर सहित सम्पूर्ण वथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छ्रैनन् ।”

लामो समयदेखि बाँदरले खेतवारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवम् वालवालिकालाई आक्रमण गर्न लागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, हाते पम्प, ग्यास लाईटको कक, काठ, युपिभिसी पाईप, लगायतका सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाईजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्दछ । चलाउन सुरक्षित रहेको बन्दुकको मुल्य सात देखि आठ हजारसम्म पर्दछ ।

गुलेली र डेढ बर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युटुबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको बताउँदै ४५ बर्षीय गुरुङले भन्नुभयो, अहिले त बाँदर मलाई र बन्दुक देखेपछि टाडैबाट भाग्दछ । यस अघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रुखै भरि बाँदर हुन्थ्य अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर नदेखिएको उहाँले अनुभव सुनाउँनु भयो ।

विदेश जान खासै मन लागेन परिवारसंगै वसेर कृषि कर्म गर्दै आउनु भएका गुरुङले बन्दुक मात्र हैन हाते ट्याक्टर, मोटर साईकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउँदै आउनु भएको छ । वारीमा लगाएको बाली लाखुले खाने र नोक्सानी गरेर दुःख दिएको थियो यस बर्ष भने बन्दुक पड्काएपछि बारिमा लगाएको काक्रो राम्रो उत्पादन दिएको स्थानीय पोखरीगरामा काक्रो टिप्दै गर्नुभएकी रामकुमारी गुरुङले बताउनुभयो ।

बारीमा लगाएका ५० बोटबाट उत्पादन भएको काक्रो आफुले खाएर र इष्पटभित्रलाई चखाएर बाँकी रहेको बजारमा बिक्री गर्दा १६ हजार रुपैया आम्दानी गर्न सफल भएको उहाँको भनाई छ ।उहाँले भन्नुभयो, विगतमा काक्रा किनेर खानु पर्ने अवस्था थियो स्थानीय गिरेन्द्र गुरुङले बनाएको बन्दुक पड्काएपछि बाँदर देखिएको छैन बन्दुकले राम्रो काम गरेको छ । उहाँको बारीमा यतिखेर काक्रा सहित खुर्सानी, वोडी, घिरौला , करेला लगायतका लहरे बालि फष्टाएका छन् ।

मादी १२ का वडासदस्य मिलन ढकालका अनुसार बाँदरले किसानलाई रुहायको छ, गुरुङले आविष्कार गरेको बन्दुकको परिक्षण गरेर सफलताका आधारमा विस्तार गर्ने सोच गाउँपालिकाको रहेको छ । प्रत्येक्ष नभएपनि सामाजिक सञ्जालमा देखेको बताउँदै उहाँले भन्नुभयो,बन्दुक बाँदर धपाउन प्रभावकारी हुने विश्वास छ ।
मुलुक भरि बाँदर आतङ बढेर कृषकलाई गाउँबाट खेदाई रहेको वर्तमान अवस्थामा गोली सहितको बन्दुकले बाँदर नियन्त्रण भएपछि सो क्षेत्रका स्थानीय वासिन्दाका लागि यतिखेर वरदान सावित भएको छ ।

 

 

  • १६ जेष्ठ २०८१, बुधबार २०:५८ प्रकाशित