विपद्‌मा राहत र उद्धारका लागि ‘टास्क फोर्स’ बन्छ : गृहमन्त्री लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन् ।

मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरूसँगको छलफलमा सोमबार उपप्रधान तथा गृहमन्त्री लामिछानेले उक्त जानकारी दिएका हुन् । वर्षायाम सुरु भएसँगै मनसुनजन्य विपतमा जनताको उद्धार र राहतको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र टास्क फोर्स बनाउने गृहमन्त्रीले जानकारी दिएका हुन् ।

टास्क फोर्सले तीन दिनभित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन लामिछानेले अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मनसुन सुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयारी गर्न आवश्यक रहेको उनको भनाइ थियो । टास्क फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् ।

  • १४ जेष्ठ २०८१, सोमबार १६:५६ प्रकाशित