अन्नपूर्ण संरक्षण क्षेत्रमा नदीजन्य पदार्थको चोरी निकासी वढ्दै

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाम पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप एरियामा पर्ने नदीमा नदीजन्य पदार्थ चोरी निकासी वढ्दै गएको छ । चोरी निकासी बढेपछि कास्की प्रहरीले कडाइ समेत गर्न थालेको छ । प्रहरीले एक हप्ताभित्र ४ वटा सवारीहरुलाई नदीजन्य पदार्थ सहित नियन्त्रणमा लिइ कारबाही समेत गरेको छ ।

सोमबार मात्रै अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापबाट अवैध रुपमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा चोरी निकासी गरी ल्याएको तीन वटा टिप्पर कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भुर्जङखोलाबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा लोड गरी पोखरा आउदै गरेको तीन वटा टिप्परलाई सार्दीखोला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले ग१ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरको तीन वटा टिप्परलाई ढुङ्गा, गिट्टी र बालुवा सहित नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
केही दिन अगाडी पनि उक्त क्षेत्रबाट एउटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

  • १४ जेष्ठ २०८१, सोमबार १३:३५ प्रकाशित