पञ्चासेमा प्रदेश प्रमुख

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गरेका छन । पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उनले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल यात्रा गरेका हुन । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उनले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गरे ।

पोखरा महानगरपालिका वडा नंंं. २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गरेका थिए । पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीले पोखरा महानगरपालिका वडा नंं. २३ ले स्वागत गरेको थियो । अध्यक्ष रामकाजी गुरुङ, कर्मचारी चिरञ्जीवी पौडेलसहितले प्रदेश प्रमुखलाई स्वागत गरी वडाको जानकारी गराए ।

प्रदेश प्रमुख भट्टले पञ्चासे शिरदेखि फेवाफाँटसम्म फैलिएको यस वडा विविधतापूर्ण र महानगरकै ठूलो वडा रहेको जानकारी पाउँदा खुशी लागेको बताए । वडाध्यक्ष गुरुङले प्रदेश प्रमुखलाई यस प्रदेशमै पहिलोपटक आफ्नो वडामा स्वागत गर्न पाउँदा हर्ष प्रकट गरे ।

पोखरा लेकसाइडदेखि २८ किमिको मोटरबाटोको यात्रा तय गरेपछि पञ्चासे क्षेत्रको मुख्य प्रवेशद्वारका रूपमा रहेको भञ्ज्याङसम्म पुगिन्छ । त्यहाँबाट बढीमा २ घण्टा उकालो पैदलयात्रा गरी पञ्चासेकोट पुगिन्छ । भञ्ज्याङ पुग्न कास्कीको पोखराका साथै पर्वत तथा स्याङ्जाबाट पनि छुट्टाछुट्टै बाटा छन्।

नेपाल सरकारले पनि पञ्चासेलाई महत्व दिएको छ । ७ प्रदेशका एक–एक स्थानलाई नमुना पर्यटन गन्तव्य बनाउने योजना अनुरुप कोशीको सन्दकपुर, मधेशको जनकपुर, बागमतीको इन्द्रसरोवर, गण्डकीको पञ्चासे, लुम्बिनीको देवदह, कर्णालीको राराताल र सुदूरपश्चिमको भादा गाउँलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

प्रदेशप्रमुखको टोली पोखरा वडा नं. २३ घाँटीछिनाकै बाटोबाट भञ्ज्याङ पुगेको हो । दम्दमे तमु समाजले बाटैमा प्रदेश प्रमुखलाई स्वागत गरेको थियो । यहाँबाट अघि बढेको टोलीलाई कुद्बी डाँडा गाउँले तमु समाजले पनि स्वागत ग¥यो । तल्लो सिदानेमा होम स्टे सुविधा पनि छ । त्यहाँ स्व. ढकबहादुर गुरुङ स्मृति तमु (गुरुङ) संग्रहालय भ्रमण गराउँदै अर्गानिक खाजा खुवाएर स्वागत गरे ।

सिदाने गाउँबासीले फेवातालको मुहानमध्येको एक हुईं खोलाले गाउँ नै उठाउन लागेको बारे गुनासो पनि पोखे । हर्पन खोलामा मिसिने खोलाहरुले गाउँ नै विस्थापन गर्न लागेको, बर्खामा यसको नियन्त्रण नगरे बाढी र पहिरोका कारण फेवाताल पुरिनेतर्फ बेलैमा सचेत रहन महानगर तथा सरकारको पनि ध्यानाकर्षण उनीहरुले गराए । उपल्लो सिदाने समाजघरले पनि स्वागत ग¥यो भने पञ्चासेद्वार भञ्ज्याङमा पनि गाउँलेले स्वागत गरे ।

प्रदेश प्रमुख भट्टले प्रमुख पञ्चधाम अर्थात् पञ्चासेधाम गण्डकी प्रदेशमै रहेकाले यसको प्रचारप्रसार तथा प्रवद्र्धनको खाँचो औल्याए । पञ्चकोटका साथै सिद्धबाबा मन्दिरको पनि अवलोकन गर्नुभएका उनले शतबिज छर्ने दिन बालाचतुर्दशीमा ओहिरिने धार्मिक पर्यटकलाई अरुबेला पनि आकर्षण गर्न योजना नै बनाएर अघि बढ्नुपर्ने बताए ।

 

  • १३ जेष्ठ २०८१, आईतवार २१:२६ प्रकाशित