जीबी राईको राहदानी रद्द गर्न मिल्दैन : राहदानी विभाग

केन्द्रभाग मिडिया

काठमाडौं ।

सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रद्द नहुने भएको छ ।

सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय, कास्कीले ३० वैशाखमा राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो ।

तर जीबीको राहदानी रद्द गर्न नमिल्ने देखिएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक रमेशकुमार चर्मकारले बताए । ‘हामीले कानुन शाखाको सहयोगमा अध्ययन गरेका थियौं’ उनले भने, ‘राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार अहिलकै अवस्थामा उहाँका राहदानी रद्द गर्न मिल्दैन ।’

अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष छ ।जीबीको राहदानी रद्द गर्न नमिल्ने औपचारिक जानकारी कास्की प्रहरीलाई समेत पठाउने तयारी विभागले गरेको छ । ‘राहदानी रद्द गर्न नमिल्नुको कारणसहित हामी प्रहरीलाई औपचारिक जानकारी गराउँदैछौं’ निर्देशक चर्मकारले भने ।

नेपालाको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ ।

ऐनअनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, आतंकवाद लगायतका केही आरोप लागेका व्यक्तिको हकमा अनुसन्धान अधिकारीले राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गर्नसक्ने व्यवस्था छ । त्यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्न सक्ने ऐनमा व्यवस्था छ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार १५:०४ प्रकाशित