सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी बेपत्ता

केन्द्रभाग मिडिया

फाइल तस्विर

काठमाण्डौ ।
बिना अक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोहीको मृत्यू भएको छ । केन्याली आरोही जोसुआ चेरियट किरुइको बुधवार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै ८ हजार ८ सय ३० मिटरममा मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ ।‘एसएसटी एभरेस्ट एस्पिड २०२४ स्प्रिङ टिम २’ पर्वतारोहण दलका ४० वर्षीय आरोही सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्न गएको विभागले जनाएको छ ।

विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए । उनको साथमा गएको नेपाली सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेको छ ।२१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए । आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे÷नगरेको यकिन नभएको समेत विभागले जनाएको छ ।

बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन गाइन परिचालन गरी क्याम्प २ माथि खोजतलास गरेको थियो ।
सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो । सहयोगी शेर्पाको भने अझै खोजी जारी रहेको र अवस्था समेत अज्ञात रहेको पर्यटन विभागले जनाएको छ ।

 

  • १० जेष्ठ २०८१, बिहीबार १८:०४ प्रकाशित