काठमाडौं।
सहकारीको रकम अपचलन गरेको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ ।
आजको बैठकमा सत्ता पक्षबाट काँग्रेसले माग गरेको विषयहरूमा एउटा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा काँग्रेसले सहमति जनाए कार्यादेश टुङ्गो लाग्ने बताइएको छ ।
कार्यदलमा सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन् ।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ ।