पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको पश्चिमाञ्चल माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ‘सौन्दर्य तथा केश कला’ विषयको पढाइ सञ्चालन गर्ने भएको छ ।
विद्यालयले प्रशासनिक प्रक्रियाहरु पुरा गरी आउँदो कक्षा ११ को नयाँ भर्नाबाट यस विषयको कक्षा सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
यस विषयको पठनपाठन कक्षा ११ मा १०० पूर्णाङक र कक्षा १२ मा १०० पूर्णाङक गरि जम्मा २०० पूर्णाङकको हुने प्राचार्य सरोज कोइरालाले जानकारी दिए ।
पाठ्यक्रम ५० पूर्णाङ्क प्रयोगात्मक र ५० पूर्णाङ्क सैद्धान्तिक प्रकृतिको रहेको बताइएको छ ।व्यवस्थापन सङ्काय अन्तर्गत पठनपाठन हुने भएकाले यस सङ्कायमा लाग्ने शुल्क अतिरिक्त यस विषयको अध्ययन गर्ने विद्यार्थीका लागि थप प्रयोगात्मक शुल्क २४ हजार लाग्ने प्राचार्य कोइराला बताए ।
‘सौन्दर्य तथा केश कला’ विषय पोखरामा संस्थागत विद्यालयमा पहिलो पटक सञ्चालन हुन लागेको पत्रकार सम्मेलनमा बताइयो । यसका लागि आवश्यक जनशक्ति र सुविधासम्पन्न प्रयोगशालाको व्यवस्था गरिएको छ । विद्यालयले सौन्दर्य तथा केश कला विषयको बारेमा पूर्व जानकारी दिन यहि जेठ १६ गते देखि ५० जनालाई एक हप्ते सेल्फ मेकअप, स्किन केयर सम्बन्धी निशुल्क तालिम पनि विद्यालयले गर्न लागेको विद्यालयका अध्यक्ष प्रा.डा. रामनाथ ओझाले बताए ।
आइरिस हेयर एण्ड ब्युटी केयर प्रा.लि.को सहकार्यमा उक्त निशुल्क तालिम सञ्चालन हुन लागेको उनले बताए ।विगत लामो समयदेखि ११ र १२ कक्षामा व्यवसायिक, सिपमूलक र व्यवहारोपयोगी विषयहर पठनपाठन गराउदैं आएको पश्चिमाञ्चल माविले पछिल्लो समय ब्युटिसियन व्यवसाय फस्टाइरहेको र हजारौंले यही व्यवसायमार्फत रोजगारी प्राप्त गरिरहेकाले यो विषय अध्यापन गराउन लागिएको अध्यक्ष ओझाको भनाइ थियो ।
यस विषयबारे प्रकाश पार्दै अध्यक्ष ओझाले युवाले शिक्षा आर्जन गरेपछि आफै रोजगार सिर्जना गर्न सके, देशमै रोजगारी पाउन सके वा विदेश जान परे पनि सिपमूलक काम पाउन सके मात्र पढाईको सार्थकता हुने भनाई राखे ।पत्रकार सम्मेलनमा उपस्थितलाई सह प्राचार्य मिनु श्रेष्ठ कुँवरले स्वागत गरेकी थिइन् ।
वि.स. २०४९ मा स्थापना भएको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षासम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् ।
हाल कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन , विज्ञान,मानविकी र कानुन विषयको अध्ययन अध्यापन हुदै आईरहेको छ ।