पोखरामा पर्यटकलाई होटल मिलाइदिन्छु भन्दै हैरान पार्ने ७ युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा घुम्नका लागि आएका बाह्य तथा आन्तरिक पर्यटकलाई होटल मिलाइदिन्छु भन्दै हैरान पार्ने ७ युवककालई प्रहरीले पक्राउ गरेको छ ।

हिजो जेठ ७ गते सोमबार पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पृथ्वीचोक, बसपार्क एरियाबाट पर्यटकहरुलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ४ बस्ने वर्ष ३८ का यम बहादुर वि क, वडा नम्बर ९ बस्ने वर्ष २८ का सागर क्षेत्री, सोही वडाका वर्ष २९ का विक्रम सुनार, सोही वडाका वर्ष २४ का अर्जुन सेन्चुरी, वर्ष २० का लक्ष्मण सिंह,वडा नम्बर ७ बस्ने वर्ष २२ का विकास श्रेष्ठ र वडा नम्बर २६ बस्ने वर्ष २८ का साजन परियार रहेका छन् ।

उनीहरुलाई पर्यटकको झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषध जन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरुलाई दुख हैरानी दिईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ।

  • ८ जेष्ठ २०८१, मंगलवार ०९:३२ प्रकाशित