पोखरा ।
पोखराको वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरको आरोपमा प्रहरीले सोमबार बिहान मगरलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
प्राइम सहकारीबाट एक अर्ब ५४ करोडभन्दा बढी हिनामिना भएकोमा धेरै ठूलो रकम अपचलनमा मगरको पनि संलग्नताका देखिएको प्रतिवेदन र अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरिएको एसपी थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी रजिष्ट्रार कार्यालयको छानबिन प्रतिवेदन प्राप्त हुनासाथ प्रमुख कार्यकारी अधिकृत पौडेल, व्यवस्थापक थापा, सञ्चालक समितिका अध्यक्ष शंकर कार्कीलगायत ८ जनालाई प्रक्राउ गरेको थियो ।उत्तम मगरसहित पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।
साथै बचतकर्ताहरुलाई उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना नै निकालेको छ । उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानून बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिएर कास्की प्रहरीमा सम्पर्क गर्न प्रहरीले भनेको छ ।
अगामी २० जेठ भित्र उजुरी दिइसक्न कास्की प्रहरीले समय तोकेको छ ।















