सवारी प्रदूषण मापन

सडकमा हुँइकिने सवारीसाधनको अवस्था मात्र हेर्ने कि सडकको अवस्था पनि हेर्ने ?

यातायात व्यवसायीको गुनासो : न इन्धन गुणस्तर छ, न सवारीसाधन मर्मत गर्ने दक्ष जनशक्ति नै

गोविन्द सुवेदी

पोखरा ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार बैशाख महिनामा मात्र अस्वभाविक धुवाँ उडाउँदै सडकमा हुँइकिने ६ वटा यात्रुवहाक बस  प्रदूषण फैलाएकाले कारबाहीमा परे । देख्दा वातावणमैत्री तर अस्वभाविक धुवाँ फाल्ने सवारीसाधन सडकमा प्रसस्त देखिन्छन र कारबाही प्रक्रिया पनि चलिरहेको छ ।

कास्की ट्राफिक प्रवक्ता वरिष्ठ प्रहरी नायव निरीक्षक मीनबहादुर खड्का सर्वसाधारणकै गुनासो आएपछि अहिले प्रदूषण गर्ने सवारी चेकजाँचलाई तिव्रता दिइएको बताउँछन् । तर, यसरी धुवाँ फाल्ने सवारी साधनलाई वातावरण मैत्री बनाउँछौ भन्दापनि आफूहरुले नपाएको यातायात व्यवसायीले गुनासो गरेका छन् ।

एउटै सवारीसाधनलाई सढे दुईलाख रुपैयाँसम्म खर्च गर्दापनि कन्डिसनमा नआएको भन्दै आफू तनावमा रहेको ग १ ख ८१२४ नम्बरको बसका धनी सन्तोष गुरुङले बताए । उनले अब गाडी नै भीरमा लगेर फाल्ने वा कवाडीमा दिनुको विकल्प नरहेको टिप्पणी गरे । ‘इन्जिनदेखि सबै बनायौं । गाडी मर्मत गर्ने ठाउँमा ल अब सबै ठिक छ भन्छ तर, धुँवा फाल्न छाड्दैन ।’ उनले भने, ‘अब बस नै काट्नुपर्ने अवस्था आयो ।’

उनले आफू आवद्ध रहेको पोखरा यातायात प्रालिलाई यस विषयमा जानकारी गराएको पनि बताए । उनले २०१२ मोडेलको आफ्नो बस नियमित जाँचपास गरेर सञ्चालन गरेको भएपनि गाडीमा प्रयोग हुने इन्धन, पार्टस र पोखरामा उपलब्ध हुने जनशक्ति दक्ष नहुँदा यस्तो समस्या आएको सुनाए ।

सन्तोषको गाडीकोे जस्तै समस्य ग १ ख ४२१३ र ग १ ख ६०९८ नम्बरको बसले पनि खेपेका छन् । यी प्रत्येक बस मर्मतका लागि दुई देखि साढे दुईलाख रुपैयाँसम्म खर्च गरिएको सञ्चालक बताउँछन् ।

पोखरा यातायात प्रालिका अध्यक्ष देउ प्रसाद गुरुङले बसले धेरै धुँवा फाल्यो र प्रदूषण भयो मात्रै भन्नु भन्दापनि किन यसरी धुँवा फाल्यो र यसको समाधानको उपाय के हो ? भनेर खोज्नुपर्ने बताए । ‘बस मर्मत गर्दैनन् । धानेसम्म लतार्छन भन्नेजस्ता कूरा गरिएको समेत सुनियो । आफ्नो सवारी साधन राम्रो कन्डिसनमा राखेर कसले चलाउन चाहँदैन ? आफ्नो सवारीको मायाँ कसलाई हुँदैन ?’ उनले प्रश्न गरे ।

अध्यक्ष गुरुङले नयाँ गाडी सडकमा गुडाएको केही दिनमै विग्रने गरेको गुनासो गरे । ‘डिजेल पेट्रोल,  मोविल लगायतको क्वालिटी छैनन् । बाटोघाटोको अवस्था राम्रो छैन । पोखरामा सवारी साधन मर्मत गर्ने भरपर्दो वर्कसप छैन । सरकारले यहाँ गुणस्तरको मर्मतसंहार हुन्छ भनेर तोकिदिए त्यहीँ गएर सवारी मर्मत गर्न तयार छौं । लागेको पैसा पनि दिन्छौं । तर, सबैढंगले व्यवसायी नै दोषी भन्नेढंगले प्रस्तुत हुन भएन’ उनले भने ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले सरकारले पूरा गर्नुपर्ने दायित्व पूरा नगर्ने तर, सवारीधनी र चालकलाई मात्र दोषी देखाउने काम भएको टिप्पणी गरे । नियमिनत रुपमा सवारी साधनको चेकजाँच गर्ने व्यवस्था गरिदिनुपर्ने सरकारको दायित्व रहेको उनले सुनाए । ‘हाम्रा सवारी साधनको नियमित गुणस्तर हेरिदिने र तिम्रो समस्या यो छ भनेर भनिदिए हुन्थ्यो । त्यसो गरिँदैन । कहिलेकाँही अभियान चलाएजस्तो गरेर व्यवसायीलाई तनाव दिने गरिन्छ’ उनले भने ।

गाडी कन्डिसनमा राख्न सक्ने अवस्था नै रहेन : अध्यक्ष केसी

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सवारी साधन कन्डिसनमा राख्ने अवस्था नै नरहेको बताउँछन् । जस्तोसुकै गुणस्तरीय सवारीसाधन ल्याएपनि धुलो र खाल्डाखुल्डी युक्त सडक, गुणस्तरहिन पेट्रोलीयम पदार्थ र दक्ष जनशक्तिको अभावले सवारीसाधनको गुणस्तर कामय राख्न नसकेको उनको टिप्पणी छ ।

‘सवारीसाधनले प्रदुषण गरायो भन्ने मात्र हेरिन्छ । यहाँ सडकका खाल्डाखुल्डी र धुलोले बाटो नदेख्ने अवस्था हेरिँदैन । सडकको धुलोले प्रदुषण नगर्ने हाम्रा सवारी साधनले मात्र प्रदुषण गराए भन्ने पक्कै हुँदैन होला । धुलो, खाल्डा खुल्डीयुक्त सडक अनि कमसल खालको इन्धन प्रयोग गरेर कसरी सवारी कन्डिसनमा राख्नु ? उनले प्रश्न गर्दै भने, ‘दोष हामीलाई मात्र दिएर भएन । इन्धनको गुणस्तर पनि चेक गर्नुपर्यो । बाटोको अवस्था सुधार्नुपर्यो । बजारमा दक्ष जनशक्ति आउने वातावरण बनाउनु पर्यो ।’

 प्रदूषण चेकजाँचमा समस्या छैन : कार्यलय प्रमुख रिजाल

यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीका प्रमुख डिल्लीराम रिजालले यातायात व्यवसायीले यातायात व्यवस्था कार्यालय (सवारी) प्रदूषण जाँच्ने मेसिन छैन भनेर फर्काएको भन्ने गुनासो सही नभएको बताए । कार्यालयमा रहेको प्रदूषण नाप्ने मेसिन चालु अवस्थामा नै रहेको उनले दाबी गरे । तर, केही दिन बीचमा विग्रेकाले मर्मतका लागि पठाएको हुँदा समस्या भएको भने उनले स्विकार गरे ।

उनका अनुसार अहिले विशेषगरी पोखरामा सञ्चालन हुने बसहरुको प्रदूषण मापन भइरहेको छ । दैनिक ४० वटासम्म बसको यातायात प्रदूषण चेक जर्ने क्षमता रहेको उनले बताए । ‘सवारीको प्रदूषण चेक गर्ने मेशिन नभएको भनेर फर्काइएको कुरा सही होइन । २/४ दिन विग्रेकाले मर्मत गर्न पठाउँदा बाहेक अरुबेला मेशिन सुचारु नै छ ।

अहिले पोखरामा गुड्ने बस प्रदूषण चेकजाँच चलिरहेको छ । दैनिक ४० वटासम्म बसको चेकजाँच गर्ने क्षमता हामीसंग छ’ उनले भने ।

  • ६ जेष्ठ २०८१, आईतवार १८:३४ प्रकाशित