पोखरा ८ मा २ सय ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा वडा कार्यालय र ज्येष्ठ नागरिक मञ्चले संयुक्त रुपमा शनिबार निशुल्क रक्तजाँच शिविर आयोजना गरे । शिविरमा दुई सय पाँच ज्येष्ठ नागरिकको सित्तैमा मधुमेह, युरिक एसिड र खराब बोसो (टिजी) जाँच गरिएको छ ।पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो एक सय ७२ औं शिविर हो ।

कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले ज्येष्ठ नागरिकमैत्री सेवा दिइरहेको जनाउँदै त्यसको दायरा अझै बढाएर स्थानीय सरकारको अनुभूति दिने वाचा गर्नुभयो । स्वास्थ्य चौकी पोखरा २५ प्रमुख पुष्पराज सुवेदीले ज्येष्ठ नागरिकलाई विभिन्न कारणले टोल टोल वा स्थानीय रुपमै सेवा जरुरी हुने र त्यसलाई पोखरा महानगरले सुरुआतसमेत गरिसकेको जनाए ।

युआरएल हस्पिटलचोकका सञ्चालक मणि न्यौपानेले केही नसर्ने रोगहरु अन्तर्सम्बन्धित रहेको र सँगसँगै आउने भएकाले जीवनशैली, खानपान, पूर्वसावधान र उपचारले जीवन सहज बनाउने उल्लेख गरे । ‘सुगर, प्रेस, युरिक एसिड, थाइराइड, कोलेस्ट्रोल एकै घरका ५ दाजुभाइ हुन्,’ उनले भने, ‘आउन थालेपछि यी पाँचै दाजुभाइ सँगै आउन सक्छन् । बेलैमा पूर्वसावधानी, बेला बेलामा जाँच गर्ने र समस्या आइहाले उपचार गरिहाल्नुपर्छ ।’

मञ्चका अध्यक्ष शिवप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा सहरी स्वास्थ्य प्रवद्र्दन केन्द्र पोखरा ८ का डा रीता पराजुली, युआरएलका सदस्य निर्मल न्यौपाने लगायतले बोलेका थिए ।

  • ५ जेष्ठ २०८१, शनिबार २०:५६ प्रकाशित