पोखरा ।
पोखरा महानगरपालिका वडा नं.२ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २ सय २६ जना ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण गराएका छन । शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवि गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने बताइन । ज्ञान र अनुभव सहितको अभिभावकत्व परिवारका लागि आवश्यक पर्ने भन्दै उनले ज्येष्ठ नागरिकहरूलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक रहेको समेत बताइन ।
वृद्ध उमेरका उनीहरूलाई गरिने व्यवहारमा सम्मान र हार्दिकता हुनु पर्नेमा जोड दिदै उनले स्वास्थ्य मानव जीवनको पहिलो प्राथमिकताको विषय भएकाले आम नगरवासीहरूको स्वास्थ्य सुरक्षा प्रति महानगरपालिका प्रतिबद्ध रहेको समेत बताइन । महानगरपालिकाका हरेक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेतबाट नागरिकहरूलाई सरल र सुलभ सेवा प्रदान गर्ने कार्यमा महानगरपालिका लागि रहेको उनको भनाइ रहेको थियो ।
पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । उनीहरूको स्वास्थ्य पहुँच सहज नहुने, आफै अस्पताल जान नसक्ने र नियमित स्वास्थ्य परीक्षणको सुविधाबाट वञ्चित भएका ज्येष्ठ नागरिकहरूलाई वडामा नै सेवा उपलब्ध गराइएको बताउदै प्रधानाङ्गले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण सहित १ महिनालाई पुग्ने औषधी समेत निःशुल्क उपलब्ध गराइएको बताए ।
शिविरमा सुगर प्रेसर, मुटु सम्बन्धी जाँच तथा परामर्श र जनरल हेल्थ चेकअप लगायत सेवा दिइएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपेन्द्र सुनारले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका क्षेत्रमा रक्तचापको समस्या पहिलो र मधुमेहको समस्या तेस्रो नम्बरमा रहेको छ । यसको नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिन उनले सुुझाव समेत दिए ।
कार्यक्रममा सदस्य तथा सहरी स्वास्थ्य केन्द्र २ को सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष गोमा सुवेदी र सचिव याचना श्री खवास लगायतले स्वास्थ्य सचेतना र ज्येष्ठ नागरिकहरूको स्याहार सुसारका सन्दर्भमा विशेष ख्याल गर्न आग्रह गरेका थिए ।