ओटेफले सुरु गर्यो महिला लक्षित बारिष्टा तालिम

केन्द्रभाग मिडिया

पोखरा ।

महिला पर्यटन व्यवसायीको क्षमता वृद्धि एवं व्यवसायतर्फ आकर्षण जागाउन महिला पर्यटन व्यवसायी मञ्च गण्डकी (ओटेफ) को आयोजनामा पोखरामा बारिष्टा तथा बेकरी बनाउने तालिम सुरु भएको छ ।

पोखरा जाभा बारिष्टा स्कुलमा बिहीबारदेखि सुरु तालिमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले गरेकी हुन् । तालिमको उद्घाटन गर्दै उनले स्वदेशी उत्पादमा जोड दिनुपर्ने बताइन् । पछिल्लो समय नेपालमा कफी कल्चर सुरु भएको चर्चा गर्दै उनले स्वदेमा उत्पादित कफी नै प्रयोगमा ल्याउनु पर्ने धारणा राखिन् ।

नेपालको कफी विश्वमा राम्रो उत्कृष्ठ कफीमा पर्ने चर्चा गरेकी उनले नेपाली उत्पादन बृद्धि गर्दै निर्याततर्फ ध्यानदिनु पर्नेमा जोड दिइन । पर्यटन प्रवद्धनका सवालमा प्रदेश सरकारको साथ र सहयोग रहने उनको भनाई थियो ।

पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको बताउँदै उनले राजधानी भन्दैगर्दा पोखरा मात्रै नभएर यहाँको धौलागिरी, अन्नपूर्ण, मनास्लुसँगै समग्र गण्डकी प्रदेश नै भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा २५ का वडा अध्यक्ष मोतिराज तिमिल्सिनाले यस्ता तालिमले पर्यटनको क्षेत्रमा योगदान पुर्याउने बताए । उनले पर्यटन सघं, प्रदेश र स्थानिय सरकारको प्राथमिकतामा पर्ने गरेको बताउँदै पर्यटन क्षेत्रमा बजेट विनियोजन गरिने उनको भनाई थियो । प्रवक्ता तिमिल्सिनाले पर्यटन प्रवद्धनमा ओटेफको भूमिका सराहनिय रहेको बताए ।

उक्त अवसरमा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले तालिमले पर्यटन क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्न टेवा पुग्ने बताए । पछिल्लो समय कफी खाने चलन बढेको बताउँदै उनले छोटो समयमै तालिम लिएर सानो लगानीबाट पनि व्यवसाय संचालन गर्न सकिने धारणा राखे ।

मञ्चका निवर्तमान अध्यक्ष पार्वता पाण्डेले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन । उनले पर्यटकलाई गरिने आतिथ्य संस्कारसँगै सेवा प्रवाहले पनि प्रभाव पार्ने बताइन ।

ओटेफका कार्यवाहक अध्यक्ष ममता न्यौपानेले महिलालाई दक्ष बनाउन तालिमको आयोजना गरिएको बताइन । उनले तालिममा सिकेको सिपले स्वरोजगार र रोजगार बन्न सहयोग पुग्ने धारणा राखिन् ।

पोखरा महानगरपालिकाको सहयोगमा सुरु तालिममा ४० जना महिलाको सहभागिता रहेको महासचिव लक्ष्मी लामिछानेले जानकारी दिइन ।

दिया न्यौपाने, प्रज्वल पोखरेल, विजय थापामगर, सुमन तामाङलगायत प्रशिक्षक रहेको सो तालिम १५ दिनसम्म चल्नेछ ।

  • ४ जेष्ठ २०८१, शुक्रबार १०:२७ प्रकाशित