क्रिकेटर सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस ‘हेर्दाहेर्दै’मा गएको छ ।

मंगलबारन्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा जवाफी बहस मात्रै बाँकी भएको उच्च अदालत पाटनका प्रवक्ता बिमल पराजुलीले जानकारी दिए । उनका अनुसार जवाफी बहस बुधबार हुनेछ ।

मंगलबार सुरुमा सन्दीपका वकिलले बहस गरेका थिए । त्यसपछि जाहेरीवालका तर्फबाट सरकारी वकिल र निजी वकिलले बहस गरेका हुन् । यसअघि पाँचपटक पेसी तोकेर पनि फैसला हुन सकेको थिएन । गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ ।

उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ।

  • १ जेष्ठ २०८१, मंगलवार १८:५४ प्रकाशित