सहकारी ठगी प्रकरण

प्राइम सहकारीका अध्यक्ष कार्की र सचिव पौडेलसहित ८ जना सञ्चालक पक्राउ

बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप, २० जेठसम्म उजुरी गर्न बचतकर्तालाई आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर कार्की र सचिव सुरेन्द्रमणि पौडेल सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । निवर्तमान अध्यक्ष निदेश प्रसाद कोइराला, व्यवस्थापक निरु थापा केसी, कानुनी सल्लाहकार ईन्द्रप्रसाद बराल, कोषाध्यक्ष कुलदिप भट्टराई कर्जा अधिकृत सुनिल थापा र सेयर सदस्य एवं सल्लाहकार मान बहादुर गुरुङ पक्राउ परेका हुन् ।

बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी रजिष्ट्रार कार्यालयको छानबिन प्रतिवेदन प्राप्त हुनासाथ सहकारीका अध्यक्षसहित कार्यसमितिका अन्य व्यक्तिहरुलाई पनि धमाधम पक्राउ गरिरहेको छ ।

साथै बचतकर्ताहरुलाई उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना नै निकालेको छ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराको पत्र साथ कागजातहरु मंगलबार प्राप्त भएको र अनुसन्धानका क्रममा रहेको भन्दै कासकी प्रहरीले सूचना निकालेको हो ।

उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानून बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिएर कास्की प्रहरीमा सम्पर्क गर्न प्रहरीले भनेको छ । अगामी २० जेठ भित्र उजुरी दिइसक्न कास्की प्रहरीले समय तोकेको छ ।

सहकारी रजिष्टारको कार्यालय गण्डकीका प्रवक्ता इश्वरी ढकालका अनुसार गण्डकी प्रदेश अन्तर्गतका विभिन्न ८ वटा सहकारीले बचतकर्ताको २ अर्ब ३८ करोड रुपैयाँ भन्दा धेरै हिनामिना गरेको पुष्टि भएको र प्रइम बहुउद्देश्यीय सहकारीको पनि छानविन प्रक्रिया आफूहरुले सकेर प्रहरीलाई बुझाएको जानकारी दिइन् । थप अनुसन्धान अब प्रहरीले गर्ने उनको भनाई छ ।

  • १ जेष्ठ २०८१, मंगलवार १७:१५ प्रकाशित