विराटनगर ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक सुरु भएको छ । वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
कार्कीलाई एमालेका ३९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ मध्ये ३ र जसपाको १ सांसदले मत दिने तयारी गरेका छन् । समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
उता, नेपाली काँग्रेस भने प्रदेशसभा बैठकमा सहभागी छैन । प्रतिपक्षी दलको तर्फबाट राप्रपा भने उपस्थित भएको छ । कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले आजको प्रदेशसभा बैठक बहिष्कार गरेको जानकारी दिए ।