दुई महिनामै सरकारबाट बाहिरियो जसपा : यादवद्वारा राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल दुई महिनामै सरकारबाट बाहिरिएको छ । जसपा नेपाल गत फागुन २७ गते प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो  ।

जसपा नेपालका अध्यक्ष समेत रहेका यादवले फागुन २७ मा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रूपमा पद तथा गोपनीयता लिएका थिए ।

सोही दिन जसपाबाट नवलकिशोर साह सुडीले पनि वन तथा वातावरणमन्त्रीको रूपमा शपथ लिएका थिए भने दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री बनेका थिए ।

जसपा नेपालभित्र विभाजन आएसँगै पार्टी सरकारबाट बाहिरिएको हो।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

उनीहरु प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर फर्केको उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिएका हुन् । जसपा नेपालमा विभाजन आएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो भने आइतबार बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको थियो ।

  • ३१ बैशाख २०८१, सोमबार १३:४३ प्रकाशित