पोखरामा स्कुलको ढोका फोडी ११ ल्यापटप चोर्ने ४ बालक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा ४ जना बालकले विद्यालयबाट ११ वटा ल्यापटप चोरेका छन् । बालकहरुले पोखरा ३३ बरपाण्डेथुममा रहेको शान्ति उदय माविको ढोका फोडेर ११ वटा ल्यापटपसहित विभिन्न सामान चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

विद्यालयमा चोरी भएको भनि सुचना पाएपछि शिसुवा प्रहरीको टोलीले घटनामा संलग्न पोखरा-३३ बस्ने ४ जना बालकहरुलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट बिग्रिएको ३ वटा र चालू अवस्थाको थप ७ वटा ल्यापटप पनि बरामद गरिएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

डीएसपी शर्माको अनुसार उनीहरूले ७ थान चार्जर, ५ थान माउस सहित अन्य सामग्रीहरू चोरी गरेका छन् । प्रहरीका अनुसार अन्य ल्यापटप, कम्प्युटर, सिसीक्यामेरा, डिभाइसहरू, प्रोजेक्टर, साउन्ड सिस्टम लगायतमा क्षति पुगेको छ ।

चारैजनालाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • ३१ बैशाख २०८१, सोमबार ०९:४१ प्रकाशित