पोखरा ।
चालु आर्थिक वर्षको ९ महिनामा गण्डकी प्रदेशका १ लाख ६ हजार ४४ जना श्रम स्वीकृत लिएर रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार १० हजार ७ सय २ जना महिला र ९५ हजार ३ सय ४२ जना पुरुष गरी सो संख्यामा गण्डकीबाट चालु आर्थिक वर्षमा बैदेशिक रोजगारीमा गएका हुन् ।
सुरक्षित आप्रवासन परियोजना (सामी)ले वैदेशिक रोजगारको वर्तमान अवस्था र हालसम्म भएका उपलब्धिका बारेमा पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा कार्यक्रम अधिकृत शिव रेग्मीले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृत लिनेमा सबैभन्दा धेरै तनहुँका १६ हजार ७ सय ९७ जना छन् । स्याङ्जाबाट १५ हजार ८ सय ९६ जनाले श्रम स्विकृति लिएका छन् । नवलपुर १४ हजार ४ सय ५८ र बागलुङबाट १३ हजार ७ सय ९७ जना छन् ।
कास्कीबाट चालु आर्थिक वर्षको यो अवधिमा मात्र १२ हजार ३ सय ३४ विदेश पुगेका छन् । गोरखाबाट १२ हजार २ सय ४९ जना, लमजुङबाट ८ हजार ७ सय ३१ जना, पर्वतबाट ६ हजार ३ सय ९७ र म्याग्दीबाट ४९ सय २० जना रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगारीमा जानेको संख्या मनाङ र मुस्ताङमा सबैभन्दा कम छ । मुस्ताङबाट २ सय ४९ जना र मनाङबाट २ सय २४ जना छन् ।
कार्यक्रम अधिकृत शिव रेग्मीले सामीले बैदेशिक रोजगार बोर्डसँग मिलेर समुदाय तहममा गर्ने काम र अवस्थाको बारेमा जानकारी दिए । आप्रवासनकै कारणले समुदायमा आन्तरिक बसाइसराई, पारिवारिक बेमेल, घरेलु हिंसा, मनोसामाजिक समस्या, युवा जनशक्ति पलायन र बाँझो जमिन र खर्चिलो सामाजिक जीवन बनिरहेको जानकारी रेग्मीले दिए ।
वैदेशिक रोजगार बोर्डले सामीसँग समन्वय गरेर रोजगारीका लागि विदेश जानेहरुलाई आवश्यक सूचना तथा परामर्श, सीप विकास तालिम, न्यायमा पहुँच र मनोसामाजिक परामर्श दिँदै आएको उनको भनाइ छ । ‘आप्रवासनलाई लक्ष्य गरेर सरकारले सुरक्षित आप्रवासन कार्यविधि ३ वटा, वैदेशिक रोजगार सम्बन्धी ३ वटा पाश्र्व चित्र ३ वटा, र मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्शसम्बन्धी नीति बनाएको छ,’ रेग्मीले भने ।
कार्यक्रम संयोजक कुम गुरुङले सामीले हालसम्म सामुदाय स्तरमा पुगेर चालु वर्ष ८ हजार ९ सय २९ जनालाई सचेतना दिएको जानकारी दिए । जसमध्ये ५ हजार ९६ पुरुष र ३ हजार ९ सय महिला छन् । सामीका सूचना अधिकारी हेमराज अधिकारीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगिने नेपालीको संख्या बढी रहेको जानकारी दिए ।
ठगी गर्नेमा भारतीय नागरिकसमेत रहेको अधिकारीले सुनाए । चालु आर्थिक वर्षको ९ महिनामा १ सय ४० जना ठगीमा परेका छन् । जसमध्ये ७२ वटा मुद्दाको समाधान गरिएको छ । कास्कीको ४ वर्षको तथ्यांकलाई विश्लेषण र सामीको तेस्रो चरणको अवधीमा विभिन्न किसिमका ६ सय ६५ समस्याहरु दर्ता हुन आएकोमा विभिन्न निकायको सहयोग समन्वय र सहजककरण पश्चात ३ सय ३७ वटा समाधान भएर पीडितहरुले १२ करोड १६ लाख ५४ हजार ५ सय आर्थिक सहायता प्राप्त गर्न सहयोग गरिएको बोर्डका अधिकृत रेग्मीले जानकारी दिए । उनले आप्रवासनलाई लक्षित गरेर कास्कीका स्थानीय तहले काम गरिरहेको जानकारी दिए ।
बैदशिक रोजगारीमा गएका कास्कीका २२ जनाको ज्यान गुम्यो
नेपालीहरु विदेशिने संख्या बढेसँगै उतै ज्यान गुमाउने पनि बढेका छन् । वैदेशिक रोजगारीमा गएकाहरु थुप्रैले कार्यस्थलमै ज्यान गुमाएको कार्यक्रम अधिकृत शिव रेग्मी बताउँछन् ।
चालु आर्थिक वर्षमा मात्र कास्कीका २२ जनाको शव नेपाल आएको उनले जानकारी दिए । कास्कीकै १५ जना काम गर्न नसक्ने घाइते—अपांग भई घर फर्केका छन् ।













