काबुल ।
अफगानिस्तानमा बाढीले वितण्डा मच्चाएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौँको ज्यान गएको छ ।
तालिवान अधिकारीहरूले बाढीका कारण १५० भन्दा बढीको ज्यान गएको बताएका छन् । यता मानवीय संस्था विश्व खाद्य कार्यक्रमका अनुसार भने बाढीका कारण तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का छ ।
बगलान प्रान्तका पाँच जिल्ला शुक्रबार रातिदेखि आएको बाढीको चपेटामा परेका छन् । त्यहाँका घरमा क्षति पुगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विश्व खाद्य कार्यक्रमका अनुसार २ हजार ११ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । यसबाहेक २ हजार ८ सय घरमा क्षति पुगेको छ ।
बाढीका कारण तीन मस्जिद र चार विद्यालयमा पनि क्षति पुगेको छ । उत्तरी अफगानिस्तानको काबुलसँग जोड्ने सडक बन्द गरिएको अधिकारीहरूले बताएका छन्।