हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिएका छन् । अनुसन्धानका लागि पक्राउ गरिएकाहरू अस्पतालमा बसेर हिरासत छल्ने गरेकोमा जनस्तरबाट नै प्रश्न उठ्ने गरेको छ ।

सोमबार छामिछानेले निर्देशन जारी गर्दै दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न निर्देशन गरेका छन् । अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन निर्देशन दिइएको छ ।

त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउन भनिएको छ । मन्त्रालयले चैत १३ मा मेडिकल काउन्सिललाई त्यसबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेको थियो ।

सो प्रतिवेदनको आधारमा ३ बुँदे निर्देशन जारी गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

  • २४ बैशाख २०८१, सोमबार १५:०५ प्रकाशित