पोखरा ।
नेपाली काँग्रेस गण्डकीले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नपुगी बहुमत घोषणा गरिएको भन्दै सर्वोच्चमा रिट हाल्ने भएको छ ।
सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका हुन् । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।
आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका हुन् ।
कांग्रेसले उक्त घोषणा विरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने दलका नेता सुरेन्द्रराज पाण्डेले बताए ।
‘कानुनी र राजनीतिक दुवै हिसाबले हामी न्याय खोज्छौँ । संसदमा जे भयो, गैर संवैधानिक भयो,’ उनले भने, ‘सर्वोच्चले पहिले गरेको आदेश पनि संविधान विपरीत छ । तर हामीले मान्यौँ । अहिले उक्त गल्ती करेक्सन हुनेछ ।’
पाण्डेले मुद्दाको किनारा नलाग्दासम्म प्रदेशसभाका कुनै पनि बैठकमा सहभागी नहुने पनि बताएका छन् ।