पोखरा महानगरद्धारा नगर क्षेत्रका १४ मजदुर सम्मानीत

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदुर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा श्रमिक तथा स्वरोजगार मजदुर रहेका महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

सम्मानित हुनेमा मंगली परियार, कमलबहादुर पुलामी, धनप्रसाद उपाध्याय, रिता कार्की, विष्णुमाया श्रेष्ठ, मुक्ति पाण्डे, तीर्थराज मगर, चन्द्रप्रसाद गुरुङ, चन्द्रकला रानाभाट, इन्द्रबहादुर गुरुङ, दिलबहादुर तुलाधर, महिमा शाही, प्रेमबहादुर कुमाल, दलबहादुर मगर लगायत रहेका छन् । विभिन्न ट्रेड युनियनहरुको सिफारिसमा उनीहरुलाई सम्मानित गरिएको हो ।

श्रम र श्रमिकको सम्मान गर्ने परिपाटीको विकास गर्न यस्तो अभियान थालिएको सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेले जानकारी दिए । उनले महानगरले मजदुरहरुको तथ्याङ्क संकलन, उनीहरुलाई न्यूनतम ज्याला र रोजगारीको ग्यारेण्टीका योजनाहरु बुनेको पनि सुनाए ।

मजदुर दिवसकै सन्दर्भमा महानगरले शुक्रबार औद्योगिक श्रम सम्बन्ध सुधारमा पालिकाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना ग¥यो । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले मजदुरको अधिकार रक्षाको लागि निजी क्षेत्र गम्भीर रहेको बताए ।

न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धतालगायतका विषयमा यसअघि नै सहमति कायम भएको बताउँदै उनले मजदुर र रोजगारदाताबीच असल सम्बन्ध जरुरी रहेकोमा जोड दिए । सामाजिक सुरक्षा कोषमा आवद्धतामा केही समस्या देखिएको र कतिपय अवस्थामा मजदुर नै त्यसमा सहभागी हुन नखोजेको उनको भनाइ थियो ।

पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ तिमिल्सिनाले मजदुरहरुलाई तोकिएको पारिश्रमिक दिनु रोजगारदाता र आफ्नो जिम्मेवारी पूरा गर्नु मजदुरको कर्तव्य भएको बताए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकीका संयोजक मुरारी शर्माले मजदुरहरुले अझै पनि राज्यबाट तोकिएको ज्याला पाउन नसकेको बताए । उनले मजदुरको सामाजिक सुरक्षाप्रति संवेदनशील हुन निजी क्षेत्रसँग आग्रह गरे ।

जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले स्थानीय तहले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने अभियान थाल्नुपर्ने बताए । उनले स्वास्थ्य संस्थादेखि उद्योगसम्मले मजदुरलाई तोकेको पारिश्रमिक नदिएको जिकिर पनि गरे ।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष टंक पौडेलले उद्योग प्रतिष्ठानले तोकेको पारिश्रमिक नदिँदा जनशक्ति विदेशिएको बताए । पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले मजदुरको पेशागत सुरक्षालाई राज्य र रोजगारदाता दुवैले केन्द्रमा राख्नुपर्ने बताए ।

ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष कमल सापकोटाले सामाजिक सुरक्षा कोषको आवद्धता तथा तोकिएको पारिश्रमिक दिनबाट उम्कनको लागि उद्योग÷प्रतिष्ठानले ‘आउट सोर्सिङ’को बाटो रोजेकोमा आपत्ति जनाए । एकीकृत ट्रेड युनियन महासंघ गण्डकी अध्यक्ष तीलबहादुर विश्वकर्माले. महिलालाई कम ज्याला दिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे ।

 

  • २१ बैशाख २०८१, शुक्रबार २०:५८ प्रकाशित