पोखरा ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा आफू जुटेको बताएका छन । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सञ्चारकर्मीसँग कुरागर्दै उनले चालु आर्थिक वर्षको बजेट पूर्ण कार्यान्वयन हुने अवस्था नदेखिएको भन्दै आगामी आर्थिक वर्षमा पूर्ण कार्यान्वयन हुने खालको बजेट ल्याउने दावी गरे ।
‘चालु आर्थिक वर्ष नीति कार्यक्रममा जे थियो बजेटमा त्यो छैन, बजेटमा जे पास भयो कार्यान्वयनमा त्यो छैन, त्यसले गर्दा हाम्रो बजेट पूर्ण रुपमा कार्यान्वयन हुने अवस्थामा देख्दिन’ उनले भने । यो आर्थिक वर्षमा देखिएको समस्यालाई गम्भिरतापूर्वक मूल्याकंन गरेर आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्ने उनकोे भनाई छ । बजेटको लागि सिद्धान्त र प्राथमिकताहरू तोक्ने नीति कार्यक्रम बनाउने र बजेट निर्माण गर्ने काम अब तुरुन्त थाल्नुपर्ने उनले सुनाए ।
पहिलो पञ्चवर्षीय योजना समाप्त भएर दोस्रो पञ्चवर्षीय योजना बनाउने काममा सरकार रहेकोले झण्डै २५ लाख जनसंख्याले लाभ लिने गरी बजेट बनाउनुपर्ने बताए ।
बहुवर्षीय योजनाका नाममा स्रोत र आवश्यकतालाई ध्यान नदिँदा समस्या भएको औल्याउदै अधिकारीले सरकार परिवर्तनको समयमा आर्थिक अनुशासन तोडेरै काम भएको समेत दावी गरे ।
‘बहुवर्षीय योजनाका नाममा, नेताहरुको पहुँचको भरमा, आवश्यकता छ की छैन, स्रोत छ की छैन नहेरी, जाँदा–जाँदै साथीहरूले विक्तिय अनुशासन नियमलाई कार्यान्वयन नगरेरै काम भएका छन’ उनले भने । शुक्रबार मात्र यस विषयमा मन्त्री र सचिवलाई राखेर कुरा गरेको उनको भनाई थियो ।
‘आज बिहान मात्रै भौतिक पूर्वाधार र अर्थ मन्त्रालयका सचिव र मन्त्रीलाई राखेर कुरा गरे, झण्डै ३२ अर्ब भन्दा बढीको बजेट बनाउन सक्दैनौ होला अनि आधा भन्दा बढी समय त्यहीं खर्च हुन्छ, नयाँ काम हामीले केही गर्न नसक्ने गरी बोझ थुपार्न खोजिएको छ’ उनको गुनासो थियो ।
चालु आयोजना पुरा नहुने, नयाँ योजना सुरु गर्न नसक्दा सरकारको औचित्य माथि नै प्रश्न खडा हुने भएकोले त्यसलाई ध्यान दिएर आफूले काम गर्न खोजेको उनले सुनाए ।
पर्यटनको राजधानी रहेको गण्डकी प्रदेश पर्यटनका दुई महत्वपूर्ण विषयवस्तु प्रकृति र संस्कृतिमा धनी प्रदेश रहेको बताउदै उनले यहाँ भएका सम्पदालाई बलशाली बनाएर राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा प्रचार प्रसार गर्दै महत्वलाई अझ व्यापक बनाउदै नयाँ पुस्तालाई देश र जनताप्रति आस्था जगाउन खालका काम आफने नेतृत्वको वर्तमान सरकारले गर्ने समेत बताए ।
उर्जामा अन्य प्रदेशभन्दा गण्डकी अगाडि रहेको भन्दै वैकल्पिक उर्जा, हाइड्रो लगायतबाट समेत राम्रो लाभ लिन सकिने उनकोे विश्वास छ । प्रदेशमा भएका कृषि उपजलाई आन्तरिक बजारिकरण गर्ने तथा यहाँका उत्पादनहरू अन्तरराष्ट्रिय बजारमा लैजान काम गर्ने उनको भनाई थियो ।
‘बहुआयामिक महत्वका जडिबुटीहरु हामीसँग रहेका छन्, तीनलाई हामीले एग्रो फरेष्टमा परिवर्तन गर्ने, परम्परागत कृषि प्रणालीलाई व्यवसायिक गर्ने, यान्त्रीकिकरण गर्ने र खाद्यान्नमा आत्मनिर्भर हुने अवस्था ल्याउनुपछर्’ उनले भने ।
यहीं वैशाख गते २३ आइतबार प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएका मुख्यमन्त्री अधिकारीले आफूले सहज रुपमा विश्वासको मत प्राप्त गर्ने समेत बताए ।