काठमाडौँ ।
तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय २७ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि ओपनर ब्याट्सम्यान जोन्सन चार्लसले उत्कृष्ट शतकीय पाली खेले । उनले अविजित रहँदै टोलीका लागि अविजित एक सय १९ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका जोन्सनले केवल ६१ बलको सामना गरी सात छक्का र १३ चौका पनि हिर्काए ।
जोन्सन नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी बनेका छन् । जोन्सन चार्लसले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।