पोखरा ।
नेपालले वेष्ट इण्डिज ए विरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा कप्तान रोहित पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेष्ट इण्डजलाई ४ विकेटले हराएको हो । वेष्ट इण्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि कप्तान रोहितले सर्वाधिक १ सय १२ रनको योगदान दिए । रोहितले ५४ बलमा १० चौका र ६ छक्का हाने । उनले ४७ बलमा १० चौका र ५ छक्का मद्धतमा शतक पूरा गरेका हुन् ।
दिपेन्द्र सिंह ऐरिले २४ रन थपे । १८ बलमा २ चौका र १ छक्का हानेका उनी क्याच आउट भए । ओपनर कुशल भुर्तेल १६ रन बनाउँदा क्याच आउट भए । कुशल मल्ल १६ रनमा रनआउट भए ।
अर्का ओपनर अनिल शाह ५ रन बनाउँदा क्याच आउट भए। विवेक यादव ७ रनमा बोल्ड आउट भए । गुल्सन झा ९ र प्रतिश जिसी ५ रनमा नटआउट रहे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिज ए टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रनको योगफल तयार पारेको हो ।
वेष्ट इण्डिज ए का लागि कदिम एलियन १४ किमो पल शुन्य रनमा मा नटआउट रहे । कप्तान रोष्टन चेस ४७ रन बनाउँदा क्याच आउट हुन पुगे । ४६ बलमा ९ चौका र २ छक्का हानेका रोष्टन अन्तिम ओभरको चौथो बलमा दिपेन्द्रको बलमा कुशल मल्लको हातबाट क्याच आउट हुन पुगे ।
ओपनर एलिक एथानाजेले ४६ रन थपे। एलिस सातौँ ओभरको पाचौँ बलमा रोहित पौडेलको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए । ३८ रन बनाएका केसी कार्टी अविनास बोहोराको बलमा दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे । आन्द्रे फ्लेचर १३ रन बनाउँदा रन आउट भए । जोनसन चाल्र्स शुन्य रनमा नै कमल सिंह ऐरिको बलमा बोल्ड आउट भए ।
नेपालका लागि कप्तान रोहित पौडेल, कमल ऐरी, अविनास बोहोरा र दिपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए । जितसँगै नेपालले पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल भोलि आइतबार हुनेछ ।