चितवन ।
लागू औषधको ट्रान्जिट प्वाइको रुपमा रहेको चितवनलाई निष्तेज पार्ने अभियान सुरु भएको छ । जिल्लामा सबैभन्दा धेरै लागू औषधको प्रयोगकर्ताको रुपमा युवा समूहहरु समावेश भएको तथ्याङ्क वृद्धि भएसँगै चितवन प्रशासनको नेतृत्वमा ३ महिने महाअभियान सुरु भएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ३ महिने महाअभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिका सार्वजनिक गरेकी हुन । सो अवसरमा बोल्दै महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत महानगर निर्माणमा विकास निर्माणसँगै लागू औषध नियन्त्रण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताइन ।
सडक मानवमुक्त पहिलो महानगर जस्तै लागू औषध नियन्त्रणमा पनि देशको उदाहरणीय काम गर्नुपर्नेमा उनको जोड रहेको थियो । अभियानमा महानगरपालिकाको तर्फबाट आवश्यक साथ सहयोग र सहकार्य हुने प्रमुख दाहालको प्रतिवद्धता रहेको थियो ।
विकृति विसंगति रहित समाजको निर्माण, युवा वर्गलाई लागुऔषधको दलदलबाट बाहिर ल्याई लागुऔषध मुक्त समाजको निर्माण गर्नका लागि अभियान प्रभावकारी हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताए ।
जिल्लाका ७ वटै स्थानीय सरकारले ३ महिने अभियानका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
पछिल्ला वर्षहरुमा लागू औषध ओसार पसार, कारोबार एवम् सेवनका घटन बढ्दै गएपछि जिल्लामा नै पहिलो पटक ७ वटै पालिकालाई लक्ष्ति गरी लागू औषध विरुद्धको महाअभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।
चितवन अदृश्य तवरले लागुऔषधको ट्रान्जिट पोईन्ट देखियो सिडियो थापाले भने, चितवनकै सात वटै स्थानिय तहको टोल टोल, वडा वडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप सचेतनामूलक कार्यक्रम हुनेछ ।’
महाअभियान अन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ गर्ने उनले बताए । लागुऔषध जरैदेखि निर्मूल पार्नका लागि चितवन प्रशासन आफै एक्सनमा उत्रिन लागेको यो पहिलो कार्यक्रम हो ।
कार्यक्रममा सिडियो थापाले लागुऔषधको कारोबारीलाई शुन्य सहनशीलताको नीति अपनाई कारबाही गर्ने र लागुऔषधको सेवनकर्तालाई परिवारमा पुर्नस्थापना समेत गर्न यो अभियानले ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।
भावी दिनमा लागुऔषधको थप भयाभह अवस्थाबाट जोगिन हामीले समयमै महाअभियान सुरु गर्न लागेका हौँ,’ सिडियो थापाले भने, ‘लागुऔषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै सरोकारवालको प्रभावकारी समन्वयबाट मात्र नियन्त्रण गर्न सम्भव विषय भएकाले हामीले महाअभियान सुरु गरेका हौँ ।’
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सहायक प्रजिअ चिरञ्जीवि शर्माले अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन चितवन प्रहरी प्रमुख (एसपी) भावेश रिमालले अपिल गरे ।
‘लागुऔषध नियन्त्रणका लागि अभियानकै रुपमा प्रहरी पनि नयाँ ढैगले परिचालन हुन्छ’ चितवन प्रहरी प्रमुख (एसपी) भावेश रिमालले भने, ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियान हुनेछ ।
पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार जिल्लामा १८ देखि २५ वर्ष उमेरका सबैभन्दा बढी लागू औषध प्रयोगकर्ता रहेको देखिएको छ । त्यस्तै २६ देखि ३५ वर्ष उमेरका ३५ प्रतिशत रहेका छन् । यसमध्ये सबैभन्दा बढी ६० प्रतिशत ज्याला मजदुरी गर्ने लागूऔषध सेवनकर्ता रहेका छन् । जिल्लामा लागू औषध दुव्र्यवसनीहरुको संख्या प्रत्येक बढ्दो क्रममा रहेको छ ।