काठमाडौं ।
शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)बीच सामान्य झडप भएको छ ।
नेविसंघले क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाउन जानेक्रममा स्ववियु अध्यक्षले रोक्न खोजेपछि झडप भएको नेविसंघ क्याम्पस एकाइका अध्यक्ष सन्देश खाँडले जानकारी दिए ।
नेविसंघले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, लेखा प्रमुख सुद्धर्शन थापा, विद्यार्थी कल्याण प्रमुख गजेन्द्र गोहित र स्ववियु अध्यक्ष सुशान्त बस्नेतको मिलेमतोमा क्याम्पसमा आर्थिक अपचलन गरेको आरोप लगाउँदै आएको छ ।
नेविसंघ क्याम्पस एकाइका अध्यक्ष सन्देश खाँडले हुँदै नभएको बास्केटबल प्रतियोगिता नाममा रकम निकासा भएको बताए । उनको भनाइ अनुसार २०८० भदौ २० देखि २५ गतेसम्म बास्केटबल प्रतियोगिता भएको र उक्त प्रतियोगितामा लागेको खर्च भुक्तानी गरिपाऊँ भनी नेविसंघको लेटरप्याडबाट निवेदन पेस भएको छ ।
उक्त पत्रमा जम्मा खर्चमा चार लाख १७ हजार २४५ उल्लेख गरिएको छ । सोही निवेदन अनुसार बीबीएस दोस्रो वर्ष अध्ययनरत विद्यार्थीको खातामा रकम जम्मा भएको पाइएको नेविसंघको जिकिर छ ।
नेविसंघको लेटरप्याड प्रयोग भएपछि बुझ्ने क्रममा स्ववियु अध्यक्षको मिलेमतो देखिएको खाँडले बताए । स्ववियुका अध्यक्ष सुशान्त बस्नेत नेविसंघबाट निर्वाचित भएका हुन् । झडपमा परेर उनलाई सामान्य चोटपटक लागेको छ ।













