होटेलमा महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिए

केन्द्रभाग मिडिया

symbolic picture

धनुषा ।

धनुषाको एक होटेलमा एक महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

मंगलबार महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

उनीहरूको शव जनकपुरधामको रामानन्दचोकस्थित रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवै जनाको शव झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा ती पुरुष र महिला झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै घटनास्थल पुगेका धनुषाको प्रहरी टोलीले ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ।

‘दुवैजना ३–४ दिनदेखि होटलमा बसेका रैछन्। उनीहरूसँग एउटा बच्चा भएकोले तिनीहरू श्रीमान–श्रीमति होला भनेर होटलबालाले कोठा दिएको रैछ। तर त्यसो होइन। उनीहरू श्रीमान–श्रीमति होइनन्,’ प्रहरी नायव उपरीक्षक अवाले भने ‘अहिले मुचुल्का गरेर लासलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। पोस्टमार्टमपछि थप कुराहरू खुल्छ।’

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

  • ११ बैशाख २०८१, मंगलवार १६:५५ प्रकाशित